काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि ‘अनावश्यक’ दबाब बढाएको विरोधमा शनिबार काठमाडौँमा प्रदर्शन भएको छ।

घिसिङको समर्थनमा जम्मा भएका नागरिकले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म र्‍याली निकालेका छन्।

०७२/७३ सम्म नोक्सानीमा रहेको प्राधिकरण कुलमान नेतृत्वमा आएयता निरन्तर नाफामा छ । २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावट अहिले १२.७३ प्रतिशत मा झरेको छ । यसबाट मात्रै प्राधिकरणले प्रतिवर्ष करिब १२ अर्ब थप आम्दानी गरेको छ।

विद्युत्को बजार भारतदेखि बांङ्गलादेशसम्म विस्तार भएको छ।
घिसिङले सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको उनीहरूको भनाइ छ।

सरकारले घिसिङमाथि अन्याय गरिरहेको तथा सीमित ठूला उद्योगीलाई विद्युतको बक्यौता तिर्न नपर्ने निर्णय गर्ने सम्भावना रहेको भन्दै दबाब दिन र्‍याली निकालेको उनीहरूको भनाइ छ।

र्‍यालीमा सहभागीहरूले २२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, अँध्यारो र उज्यालो फरक छर्लङ्ग छ, माइतीघरमा युवाहरूको लर्को, बालुवाटारमा ओलीलाई झर्को, माफियाको सत्ता, बिजुली चोरलाई भत्ता, देउवा–ओलीलाई पेन्सन, युवाहरूलाई नदेऊ धेरै टेन्सन, तानाशाही सरकार मुर्दावादलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com