काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परी मृत्यु भएकी स्कुटर चालकको पहिचान अझै खुल्न सकेको छैन।
यसअघि स्कुटर चालकको पहिचान खुलेको भन्दै एक महिलाको नाम र ठेगाना सार्वजनिक भएतापनि उक्त महिला स्कुटर चालक नभएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले पुष्टि गरे।
ग्लोबल नागरिकसँग कुरा गर्दै उनले भने “एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै आउनु भएकाे थियो। तर पछि उहाँको बैनी सम्पर्कमा आएपछि उक्त शव उहाँको बैनीको नभएको पुष्टि भएको हो। शव क्षतविक्षत अवस्थामा छ। खुट्टाले मात्र चिन्न सकिने अवस्थामा छ। उहाँ क्नफियुज हुनुभएको हो कि, के हो यसबारे पनि अनुसन्धान सुरु गरेका छाैं। उहाँलाई पनि नियन्त्रणमा लिएका छाैं।”
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो।
प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार
प्रतिक्रिया