काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न भनेको छ । ‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे / गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’ सूचनामा छ ।
‘विगतको तुलनामा हालका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको प्रशासनको ठहर छ । ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ’ सूचनामा भनिएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार
प्रतिक्रिया