ललितपुर । कान्तिलोकपथ निर्माण र वैकल्पिक सडक निर्माणको निर्णयमार्फत स्थानीयबासीको उठीबास नगर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

गत २०७६ साल जेठ ६ गतेको मन्त्रीपरिषद् निर्णयमार्फत सडक सीमा र मापडण्द कायम हुने गरी निर्णय भएकोमा उक्त निर्णय गर्दा स्थानीयबासीसँग छलफल नै नगरी राष्ट्रिय राजमार्गमा सुचिकृत गरी मापदण्द लागु गराउनु गैह्र न्यायिक एवं अव्यावहारिक भएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

त्रिभुवन राजमार्गको वैकल्पिक मार्गको रुपमा ललितपुरको टिकाभैरवदेखी हेटौडा हुँदै बिरगञ्जसम्म जोडिने गरी जिरो किलोमिटर चापागाँउ हुदैँ सातदोवाटो कायम रहेको सरोकारवालालाई जानकारीबिना सडकको ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको कारण खुलाउनसमेत माग गरिएको छ ।

उक्त सडकका लागि टिकाभैरव हुदै छम्पी, चुनिखेल, भैसेपाटी, एकान्तकुनासम्म राष्ट्रिय राजमार्ग कायम गरी सार्वजनिक सडक ऐन २०३१ को दफा ३ बमोजिमको कायम गरिएको विरोधमा गत भाद्र ३० र ३१ गते भैसेपाटीका विभिन्न स्थानमा सांकेतिक विरोध प्रदर्शन गरिएको थियो । उक्त विरोध प्रदर्शनमा प्रभावित हुने क्षेत्रका नेकपा एमालेका पार्टी पंक्ति र उक्त क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएका थिए ।

उक्त निर्णय लागु भएको अवस्थामा हजारौं स्थानिय बासिन्दाहरुको उठिबास हुने निश्चित देखिएकोले निर्णयलाई तत्काल खारेज गर्दै सडकको मापदण्ड अधिकतम २० मिटर कायम हुनुपर्ने सुझासहित सहजीकरण र स्थानीयको पक्षमा निर्णयका लागि ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।

उक्त ध्यानाकर्षण पत्र बुझाउन बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायाम मन्त्री प्रेमभक्त महर्जनको नेतृत्वमा प्रदेशका पूर्व राज्यमन्त्री तथा एमाले बागमती प्रदेश कमिटी सदस्य जीवन खड्का, एमाले ललितपुर महानगर अध्यक्ष ज्ञानेन्द्र शाक्य, ललितपुर महानगरपालिका वडा नं. १८ का अध्यक्ष दामोदर खड्का, वडा नं. २५ का अध्यक्ष दौलत कुमार खत्री, वडा नं. २२ का अध्यक्ष सागर तुलाधर, वडा नं. २५ का पूर्व अध्यक्ष विष्णु कुमार कार्की उपस्थित भएका थिए । यसैगरी नेकपा (एमाले) ललितपुर महानगर कमिटी अन्तर्गत वडा नं. १८, २१, २२ र २५ वडा कमिटी अध्यक्षहरु क्रमशः पुरुषोत्तम थापा, ज्ञानभक्त महर्जन, प्रकाश तुलाधर र रघुनाथ खड्का तथा एमाले स्थानीय नेताहरु जीवन केसी, श्यामकृष्ण महर्जन र रवि महर्जनको हस्ताक्षरमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री दाहालले आवश्यक पहल गर्ने बताए ।

 

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com