काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेर पोखरा पठाउने क्रममा पूर्वडिआइजी जोशीले ‘सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ?’ भनेर प्रश्न गरेका थिए। जबाफमा प्रहरीले चाँडै पक्राउ गर्ने बताएका थिए ।

‘उहाँले चेक काट्न म होइन, रकम कसरी आयो भन्ने जानकारी मैले राखेको छैन तर चेक काटेर करोडौं रूपैयाँ उडाउनेले चाहिँ उन्मुक्ति पाउनुभएन नि,’ जोशीको भनाइ उद्धृत गर्दै पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने। साथै उनले रविलाई पक्राउ गरेर मात्र आपूmलाई पक्राउ गर्नुपर्ने बताएका थिए। ‘कानुनी भाषा र अनुसन्धानको पक्षबारे म पनि जानकार छु, रविजीलाई पक्राउ गरेपछि मलाई पक्राउ गर्नुपर्ने हो, मलाई फसाउने रविलाई छाड्ने योजना हो या राजनीतिक सौदाबाजी ? यसो भयो भने राम्रो हुँदैन,’  एक उच्च प्रहरी अधिकारीलाई फोन गरेर भनेका थिए।

उनलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको अनुमति लिएको छ। काठमाडौं महानगरपालिका–१ नक्साल घर भएका पूर्वडिआइजी जोशीले आफू भाग्न नखोजेको बताएका छन्। ‘म भाग्ने भए उहिल्यै भागिसक्थें,’ उनले कास्की प्रहरीलाई भनेका थिए। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा छविलाल जोशीलाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको थियो।

समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com