काठमाडौँ । ‘सिधा कुरा’ डटकममा ‘डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा संलग्न सबैलाई जेल सजाय हुने फैसला भएको छ ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको हो ।
सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख छ ।
लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख छ । तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नै पर्ने फैसला गरिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो ।
‘सिधा कुरा’ले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो । उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए ।
‘सिधा कुरा’ले तयार पारेको अडियो सामग्री भ्रामक र असत्य भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि त्यसकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तिमल्सिना, कँडेल र ढुंगानाविरुद्ध साइबर अपराधसहित तीन कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ । यसमा अदालतले तीनै जनालाई धरौटीमा रिहा गरेको छ । सर्वोच्चको आइतबारको फैसलासँगै तीनै जनाले सजाय भुक्तान गर्नुपर्ने भएको हो ।
प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार
प्रतिक्रिया