सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती लगाएका थिए ।
उनले भने, ‘दशैं अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी थियो । यसबाट आएको आम्दानीबाट दशैं मनाउने सोच थियो ।’
११, १२ र १३ असोजमा परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’
यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए ।
उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गरेका थिए ।
उनले भने, ‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दशैं दशा भएर आयो ।’
बाढीका कारण जिल्लाका विभिन्न स्थानमा लगाएको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका जनाइएको छ ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ ।
जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आंकलन एवम् तथ्यांक संकलन जारी रहेको छ ।
कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
उनले बाढीबाट दुई करोड ५० लाख रुपैयाँ बराबारको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ ।’
- रासस
प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार
प्रतिक्रिया