काठमाडौँ । दशैँको अवसर पारेर फूलपातीको दिन (असोज २४) बाट रिलिज भएको तीन चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ शाव’ आजबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन् । दोस्रो हप्तामा लागेसँगै कुनै चलचित्रको शो संख्या घटेको छ, कुनैको थप गरिएको छ भने कुनै चलचित्र हलबाटै उतार्नु पर्ने अवस्था आएको छ ।

रिलिजको पहिलो दिन ‘छक्का पञ्जा ५’ ले धेरै शो पाएको थियो । दीपाश्री निरौला निर्देशित यो चलचित्रले देशभर झण्डै २५० हाराहारीको शो पाएको थियो । ‘छक्का पञ्जा ५’ लाई क्यूएफएक्सले १०० माथि शो दिएको थियो । दोस्रो सातामा प्रवेश गरेसँगै काठमाडौँका क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरजस्तो छ । चलचित्रले आज देशभरबाट ७१ शो पाएको छ । चलचित्रलाई दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले ९, बिग मुभिजमा ३ र वान सिनेमाजले ६ शो दिएको छ ।

दोस्रो धेरै शो पाउने चलचित्र ‘१२ गाउँ’ ले भने आफ्नो रफ्तार तेज बनाएको छ । विराज भट्ट निर्देशित एक्सन चलचित्र ‘१२ गाउँ’ले आक्रामक व्यापारसँगै दर्शकको साथ भव्य पाएपछि चलचित्रको शो बढाइएको हो । सुरूमा यो चलचित्रले देशभरबाट १३५ शो प्राप्त गरेको थियो । आजको रेकर्डअनुसार ‘१२ गाउँ’ ले ‘छक्का पञ्जा ५’ लाई शो संख्यामा उछिनेको छ । चलचित्रले आज देशभरबाट ८६ शो पाएको छ । ‘१२ गाउँ’ लाई आईएनआई सिनेमाजले ६, बिग मुभिजमा ३ र वान सिनेमाजले ७ शो दिएको छ । बिग मुभिजमा ‘१२ गाउँ’ अगाडि देखिएको छ भने शुक्रबारका लागि क्यूएफएक्सका काठमाडौँका आउटलेटमा ‘१२ गाउँ’ ले नै बढी शो पाएको छ ।

त्यसैगरी, प्रदर्शनको पहिलो दिन ठिकै अकुपेन्सी देखिएको चलचित्र ‘ज्वाइँ शाव’ ले पनि पिकअप लिइरहेको छ । वसन्त निरौला निर्देशित यो चलचित्रले देशभर ९४ शो पाएको थियो । प्रदर्शनपछि केही पिकअप लिए पनि रिलिजको दोस्रो साता प्रवेश गरेसँगै यो चलचित्रको शो संख्या भने ह्वात्तै घटेको छ। आज चलचित्रले देशभरबाट मात्र ८ शो पाएको छ । यो चलचित्रको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजमा कुनै शो छैन भने बिग मुभिज र वान सिनेमाजले क्रमशः १/१ वटा शो दिएका छन् ।

यता निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतले भने आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका छन् । असोज १७ गतेबाट रिलिज भएको यो चलचित्रलाई निश्चलले बिहीबारदेखि हलबाट उतारेका हुन् । चलचित्रले राम्रो प्रतिक्रिया पाउँदा(पाउँदै पनि हलहरूले आफ्नो चलचित्रको शो घटाएको र हिन्दी चलचित्रलाई शो दिएको उनको गुनासो थियो । उनले ‘बेहुली फ्रम मेघौली’ लाई चाँडै ओटिटी प्लेटफर्ममा राख्ने पनि बताएका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com