काठमाडौं । ‘छक्कापञ्जा ५’ले पहिलो साता घरेलु बक्स अफिसमा श्रृंखलाकै उच्च डेब्यु गरेको छ । दशैंको फूलपातिमा रिलिज भएको फिल्मले सातौं दिनसम्म ११ करोड ५० लाख ग्रस कमाइ गरेको छ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार पहिलो साताको औपचारिक कलेक्सन सार्वजनिक गरेको छ । पाँचौ श्रृंखलाले अघिल्लो भाग अर्थात चौंथो श्रृंखलाको पहिलो साताको कलेक्सनलाई पनि उछिनेको छ।

चौंथो श्रृंखलाले पहिलो साता ८ करोड ग्रस हाराहारीमा डेब्यु गरेको थियो । ‘पहिलो साता यो फिल्मले जसरी कमाइ गर्‍यो, यो गति तिहारसम्मै जाने अनुमान छ’ वितरक मनोज राठीले भने, ‘चाडपर्वभरि पारिवारिक दर्शक आउने भएकाले तिहार र छठ्सम्मै छक्कापञ्जाको वेभ रहने हाम्रो विश्लेषण छ ।’

काठमाडौं र मोफसलमा कमाइको हिस्सा करिब समान रहेको राठीको भनाई छ । ‘पछिल्लो समय मोफसलमा हलको संख्या वृद्धि भएसँगै शो संख्या पनि बढेको छ’ उनले भने, ‘शनिबारसम्म १५ करोडको कमाइ हुने हाम्रो विश्लेषण छ ।’

फूलपातिमै रिलिज भएका अन्य दुई फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले औपचारिकरुपमा कलेक्सन सार्वजनिक गरेका छैनन् । जसमध्ये ‘१२ गाउँ’को कमाइ पनि आक्रामक देखिएको छ । विराज भट्ट निर्देशित फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा ७ करोड हाराहारीमा कमाइ गरेको अनुमान छ । तर, यसबारे वितरकले केही बताएका छैनन् ।

अर्कोतर्फ, जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ले साताको उत्तराद्र्धमा व्यवसायिक लय समातेको देखिएको छ । यो फिल्मले पाएको शोको अकुपेन्सी पनि उत्साहजनक देखिन्छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com