काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसालविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरीले हिरासतको फोटो सार्वजनिक गर्ने कार्य अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने भएकोले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याई नेपालको संविधान र प्रचलित ऐनअनुसार अनुसन्धान तथा कारबाही गरिनेछ।’

फोटो खिच्ने र सार्वजनिक गर्ने व्यक्तिलाई कानूनी कठघरामा ल्याउन प्रतिबद्धता जनाउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य-मान्यताहरूको पालना गर्दै प्रमाणमुखी अनुसन्धान गर्ने बताएको छ।

रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर डा. निकोलास भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो। भुसालले फोटो आफूले खिचेको स्वीकार गर्दै यसअघि नै गल्ती भएको बताएका थिए। उनले रविलाई भेट्न गएका बेला उक्त तस्बिर खिचेको बताएका छन्।

यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। रवि लामिछानेको हिरासतमा रहेको फोटो सार्वजनिक हुनु प्रहरी प्रशासन र हिरासतमा रहेको व्यक्तिको गोपनीयता विषयमा गम्भीर प्रश्न खडा भएको छ।

यसअघि पनि रवि लामिछाने र उनको पार्टीका गतिविधिहरू विवादमा रहँदै आएका थिए। विशेषगरी, प्रहरी प्रशासन र रास्वपाबीचको सम्बन्ध प्रायः चर्चा र विवादको केन्द्रमा रहने गरेको छ।

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com