काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले काँग्रेस, एमाले, र माओवादी केन्द्रका नेताहरूमाथि मुछिएका भनिएका अनियमितता प्रकरणको छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

बुधबार, माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले हालसालै चर्चामा आएका भ्रष्टाचारका विषयहरूबारे निष्पक्ष छानबिनको माग राखेका हुन्।

advertisement

प्रधानमन्त्री केपी ओलीले शेरादरबारको विषय माओवादीलाई तर्साउनका लागि ल्याएको बताउँदै उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे छानबिन सुरु गर्न माग गरेको स्मरण गराए।
साथै पुनले ओलीलाई आफ्नो पार्टीका नेतामाथि उठेका प्रश्नको सामना गर्न समेत चुनौती दिएका छन्।

उनले भने, ‘तपाईँ आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ ? कम्बोडियामा तपाईँको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाईँको नाम मुछियो। के तपाईँ ममाथि संसदीय छानबिन होस् भनेर भन्न सक्नुहुन्छ ? शेर दरबारबारे छानबिन गर्न हामी तयार छौँ।’

विगतमा पनि नेताहरूको छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने गरेको स्मरण गराउँदै, पुनले ओलीलाई त्यसका लागि तयार हो भनेर दोहोर्‍याएर सोधे।

‘प्रचण्ड’ले प्रधानमन्त्री रहँदा आफ्नै पार्टीका नेता, कार्यकर्ता, र परिवारमाथि छानबिन गरेको बताउँदै उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टी र सत्ता साझेदार काँग्रेसका नेताहरूको भ्रष्टाचार प्रकरणमा कमजोर छानबिन गरेको र प्रतिपक्षीमाथि भने बदला लिन खोज्दै पक्षपातपूर्ण व्यवहार गरेको बताए।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com