काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। स्रोतका अनुसार गृह मन्त्रालयको दबाबका कारण उनले पदबाट राजीनामा दिन बाध्य भएका हुन्।
निकट स्रोतका अनुसार चैत ५ गते अवकाश पाउन लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई एआईजीमा बढुवा गराउने तयारीस्वरूप केसीलाई राजीनामा दिन लगाइएको हो। एक उच्च प्रहरी अधिकारीले भने, “एआईजी बढुवा प्रक्रियाकै समयमा उहाँलाई राजीनामाको सर्त राखिएको थियो। सोहीअनुसार दबाबपछि उहाँले राजीनामा दिनुभएको बुझिएको छ।”
केसीले केही हप्ताअघि मात्र एआईजी पदमा पदोन्नति पाएका थिए। उनी नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा कार्यरत थिए। हालसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन। सरकारको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा सो विषय छलफलका लागि पेश गरिने तयारी भइरहेको छ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार













प्रतिक्रिया