काठमाडौं । ठमेल क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरेको आरोपमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूमाथि कानूनी कारबाही अघि बढाइएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीहरूमाथि मुद्दा दायर गरेको हो। अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ।

advertisement

उक्त घटना गत माघ २५ गते मध्यराति काठमाडौं महानगरपालिका-२६ स्थित छायाँ सेन्टर अगाडि घटेको थियो। आरोपअनुसार, सो क्रममा प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि उनीहरूको समूहले शारीरिक आक्रमण गरेको थियो।

प्रहरी प्रतिवेदन अनुसार, घटनामा संलग्न व्यक्तिहरूमाथि ‘अभद्र व्यवहार’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। सामान्यतया, यस्ता घटनामा प्रहरीले २५ दिनसम्म अनुसन्धान गरी मुद्दा चलाउने भए पनि यस घटनामा दुई सातामै मुद्दा दायर गरिएकाले प्रहरी प्रशासनको आलोचना भइरहेको छ।

सरकारी वकिलको कार्यालयले दोषी प्रमाणित भएमा उनीहरूलाई अधिकतम एक वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरेको छ। साथै, कमलराज जोशी, गोपालबहादुर शाही र दिनेश सिग्देलले बारम्बार यस्ता गतिविधि दोहोर्याएको ठहर गर्दै उनीहरूका लागि थप कडा सजायको माग गरिएको छ।

 

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com