काठमाडौं – नेकपा (एमाले) का सांसद रघुजी पन्तले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले प्रदान गरेको सम्मानको गरिमा कायम राख्न सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्व राजाले राजनीतिक गतिविधि सञ्चालन गर्ने प्रयास गरे त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिए।

सांसद पन्तले भने, “यदि पूर्व राजाले आफ्ना समर्थकहरू जुटाएर जुलुस निकाल्ने, राजनीतिक समर्थन माग्ने प्रयास गर्नुहुन्छ भने अन्य नेपाली जनता र राजनीतिक दलहरूले निर्मल निवास घेरे के हुन्छ?” उनले जनतालाई पनि आफ्ना विचार अभिव्यक्त गर्ने समान अधिकार रहेको उल्लेख गर्दै पूर्व राजाले यो यथार्थलाई बुझ्नुपर्ने बताए।

advertisement

उनले २०६२/६३ को जनआन्दोलनका क्रममा राजतन्त्रले गरेको दमनका बाबजुद नेपाली जनताले अत्यन्त शान्तिपूर्ण रूपमा शाहलाई बिदाइ गरेको स्मरण गराए। “धेरै देशमा हिंसात्मक क्रान्ति हुँदा राजाहरू मारिएका छन्। तर, हामीले सम्मानपूर्वक पूर्व राजालाई गणतन्त्र घोषणा गरेर संवैधानिक रूपमा बिदा गर्‍यौं। उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान दिइएको छ, आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराइएको छ। यस सम्मानको गरिमा पूर्व राजाले जोगाउनुपर्छ,” उनले भने।

पन्तले थप प्रस्ट पार्दै भने, “राजनीतिक रूपमा समर्थन माग्ने अधिकार राजनीतिक दलका नेताहरूको हो। प्रचण्ड, राजेन्द्र लिङ्देन वा अन्य दलका नेताले यस्तो कुरा गर्न सक्छन्, तर पूर्व राजाले त्यसो गर्न मिल्दैन।”

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com