एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम घोषणा गरेका छन्, जसको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको छ। ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा परिभाषित गरेका छन्।
ट्रम्पका अनुसार ‘ट्रम्प गोल्ड कार्ड’ इबी-५ भिसा कार्यक्रमको विकल्प हुनेछ। उनले यो कार्यक्रममार्फत भविष्यमा १० लाख गोल्ड कार्डहरू बिक्री गरिने योजना रहेको बताउँदै, यसबाट राष्ट्रिय ऋण चुक्ता गर्न मद्दत पुग्ने दाबी गरेका छन्।
इबी-५ भिसा कार्यक्रम के हो?
हाल अमेरिकी नागरिकता प्राप्त गर्न उपलब्ध इबी-५ भिसा कार्यक्रम सन् १९९० देखि लागू गरिएको हो। यो कार्यक्रमको उद्देश्य विदेशी लगानीलाई प्रोत्साहित गर्नु हो। यस अन्तर्गत सहभागीले कम्तीमा १ मिलियन डलर (वा केही क्षेत्रका लागि ८ लाख डलर) लगानी गर्नुपर्छ, जसबाट कम्तीमा १० जना अमेरिकी नागरिकलाई रोजगारी उपलब्ध गराउनुपर्ने प्रावधान छ।
नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रमले अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया