वासिङ्टन – ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले अमेरिकी जनता युक्रेनलाई निरन्तर आर्थिक सहायता प्रदान गर्दा थाकिसकेको बताएकी छिन्।
ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता लेभिटले भनिन्, “युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस युद्धको यथार्थतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन्। यो युद्ध वर्षौँदेखि जारी छ, जसका कारण उनका देशवासीहरूको मृत्यु भइरहेको छ। अब अमेरिकी जनता यस युद्धलाई आर्थिक रूपमा समर्थन गर्न थाकिसकेका छन्।”
उनले थप भनिन्, “वर्तमान परिस्थिति जेलेन्स्कीको पक्षमा छैन, बरु राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुकूल छ। ट्रम्पको प्राथमिकता अघिल्लो अमेरिकी प्रशासनभन्दा भिन्न छ। उनी युद्धको छिटो अन्त्य चाहन्छन्, तर जेलेन्स्कीले त्यसप्रति इच्छुक देखिँदैनन्।”
यसअघि, शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको बैठक तिखो बहसमा परिणत भएको थियो।
यस विषयमा अन्तर्राष्ट्रियस्तरका नेताहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। अमेरिकी विपक्षी डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्समाथि ‘कूटनीतिक दुर्व्यवहार’ गरेको आरोप समेत लगाएका छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८१, शनिबार
प्रतिक्रिया