पोखरा – नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ। शनिबार पोखराको गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म उनले भव्य स्वागत प्राप्त गरे।
उक्त अभिनन्दन कार्यक्रम नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) ले आयोजना गरेको थियो। समिति सचिवालय प्रमुख अरुण गिरीका अनुसार अन्तिम राजा शाहले गणेशटोलबाट पैदलयात्रा गर्दै विन्ध्यावासिनी मन्दिरसम्म पुग्दा बीचमा पर्ने प्रमुख धार्मिक स्थलहरू— गणेश मन्दिर, भीमसेन थान, भैरव मन्दिर, तथा बौद्ध विहारलगायतका स्थानमा पूजाअर्चना गरे।
झण्डै दुई घण्टासम्म चलेको नागरिक अभिनन्दन समारोहमा बाजागाजासहित पूर्वराजाको भव्य स्वागत गरियो। सर्वसाधारणले फूलका गुच्छा अर्पण गर्दै उनलाई सम्मान प्रकट गरे। स्थानीय बासिन्दा तथा उनका समर्थकहरूले “हाम्रो राजा, हाम्रो देश; प्राणभन्दा प्यारो छ” नारासहित उत्साह व्यक्त गरे। पूर्वराजाले नागरिकसँग नजिकिँदै सेल्फीसमेत खिचे।
पूर्वराजा शाह माघ २७ गतेदेखि पोखरामा रहेका छन्। उनी परिवारसहित भैरहवाबाट चार्टर विमानमार्फत पोखराको पुरानो विमानस्थलमा ओर्लिएका थिए। फागुन १३ गते उनले स्याङ्जास्थित आलमदेवी मन्दिरमा पूजा गरेका थिए, जुन शाहवंशीय कुल मन्दिरका रूपमा चिनिन्छ।
अब फागुन २१ गते बुधबार पूर्वराजा बागलुङ कालिका मन्दिरको दर्शनका लागि बागलुङ प्रस्थान गर्नेछन्। उनलाई स्वागत गर्न विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५०१ सदस्यीय स्वागत समिति गठन गरिएको छ। बागलुङ कालिका मन्दिरको पूजा सकेपछि उनी म्याग्दीस्थित गलेश्वर मन्दिरको दर्शन गर्न जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार












प्रतिक्रिया