विशेष रिपोर्ट


आजको डिजिटल युगमा सूचना सबैभन्दा ठूलो शक्ति हो। सूचनाको सहि प्रयोग भएमा पारदर्शिता र उत्तरदायित्वको आधार बन्न सक्छ भने गलत उद्देश्यको लागि उपयोग गरिएमा ब्ल्याकमेलिङ र षड्यन्त्रको घातक हतियार बन्न सक्छ। पछिल्लो २० वर्षलाई नियाल्ने हो भने सूचना प्रविधिको क्षेत्र तिब्र गतिमा विकास भैरहेको छ। यस किसिमको प्रविधिको विकासले सूचनाको पहुँचलाई अत्यन्त सहज बनाएको छ। २० वर्ष अगाडी कुनैपनी तथ्य सार्वजनिक गर्न, भ्रष्टाचारको भण्डाफोर गर्न वा पारदर्शिता बढाउन निकै कठिन थियो भने आज प्रविधिको विकासले अत्यन्त सहज बनेको छ । तर जब ब्यक्तिगत, व्यावसायिक वा राजनीतिक स्वार्थ पूरा गर्न यहि प्रविधिको दुरुपयोग गरिन्छ, तब कहालीलाग्दो डिजिटल अपराध, ब्ल्याकमेलिङको शृङ्खला र गलत सूचना प्रवाहको षड्यन्त्र जस्ता गम्भीर समस्याहरुको जन्म हुन्छ ।

Advertisement

नयाँ युगको ब्ल्याकमेलिङ : ‘द डार्क फाइल’

एक समय थियो जब जबर्जस्ती पैसा असुल्ने हेतुले ब्यक्तिगत रहस्यहरु बाहिर ल्याउने धम्की दिइन्थ्यो त्यसलाई ब्ल्याकमेलिङ भन्ने बुझिन्थ्यो। तर प्रविधिको तिब्र विकास सङ्गै ब्ल्याकमेलिङ निकै सुक्ष्म, संगठित र खतरनाक बनेको छ। पछिलो समय नेपालमा ब्ल्याकमेलिङको नयाँ अस्त्रको रुपमा डार्क फाइलको प्रयोग भइरहेको छ। डार्क फाइल सामान्यतया गोप्य वा संवेदनशील कागजातहरुको संकलन लाई बुझिन्छ।

‘द डार्क फाइल’को नाममा पछिल्लो समय नेपालमा देखिएका घटनाहरुले डिजिटल प्रविधिको चरम दुरुपयोगलाई उजागर गरिदिएको छ । ठुला व्यावसायि, राजनितिज्ञ र सार्वजनिक ब्यक्तित्वहरुलाई लक्षित गरि नक्कली अडियो, तोडमोड गरिएका कागजातहरु र गलत समाचारहरु डार्क फाइल भन्दै सार्वजनिक हुने गरेका छन् । पछिल्लो समय नेपालमा राजकुमार तिमल्सिनाको नक्कली अडियो प्रकरणले डार्कफाइलको नाममा प्रविधिको चरम दुरुपयोगलाई उजागर गरिदिएको छ।

राजकुमार तिमल्सिना र ‘द डार्कफाइल अभियान’

आफुलाई द डार्कफाइल अभियानको संस्थापक बताउने ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ७ बस्ने वर्ष ३८ का राजकुमार तिमल्सिना जेल जीवन पछि भर्खरै मात्र निस्किएका ब्यक्ति हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको स्टिङ अपरेसन सम्बन्धी भ्रष्टाचारको मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा सहितका ब्यक्ति सम्मिलित बैठकको स्टिङ अपरेसन भन्दै २०८१ साल वैशाख १४ गते रास्वपा सभापति रबि लामिछाने संस्थापक रहेको सिधाकुरा डट कम नाम गरेको अनलाइन र अनलाइनको युट्युब च्यानल मार्फत डार्क फाइल नाम दिएर एक अडियो सामाग्री प्रसारण भएको थियो। उक्त अडियो फेक भएको भन्दै सिधाकुरा डट कम विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भयो भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले उक्त विषयमा सूक्ष्म अनुसन्धान गरेको थियो। डार्क फाइल नाम दिएर प्रसारित उक्त अडियो सामाग्री फेक भएको बिधिबिज्ञान प्रयोगशाला परिक्षणबाट पनि पुष्टि भएको थियो।

अदालतले ‘यस प्रकारको भ्रामक, कपोलकल्पित, नियोजित, झुटा सामाग्री तयार गर्ने र प्रशारण गर्ने ब्यक्तिलाई झिकाइ बयान गराउनु’ भन्ने आदेश दिएपछि सिधाकुरा डट कमका प्रकाशक युवराज कडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना पक्राउ परे। बयान तथा अनुसन्धानको क्रममा उक्त फेक अडियो राजकुमार तिमल्सिनाले बनाएको पुष्टि भएपछि उनलाई २०८१ साल असोज १३ गते सर्वोच्च अदालतबाट जेल सजायको फैसला भएको थियो। सर्बोच्च अदालतका ९ जना न्यायाधीशको पुर्ण इजलास बाट दोषी ठहर भएर भर्खरै मात्रै बाहिर निस्किएका उनै तिमल्सिना फेरि पुरानो धन्दा गर्न नयाँ अवतारमा देखिएका छन। उनको नामको फेसबुक हेर्ने हो भने उनी ‘द डार्क फाइल’ अभियानको नाममा पुरानो धन्दालाई संगठित गर्ने तयारी गरिरहेका छन्। तर फौजदारी कसुरमा सजाय पाएका ब्यक्तिले अभियानको नाममा कुनै संघ संस्था खोल्न नपाउने कानुनी प्राबधान छ ।

पाँच वटा सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका रास्वपा सभापति एवम् पुर्व गृहमन्त्री रबि लामिछानेले आफ्नो ब्याक सपोर्टको लागि छाँया अभियानको रुपमा द डार्क फाइल अभियान चलाउन थालिएको हो कि भन्ने आशंका गरिएको छ। यद्यपि रबि लामिछाने असन्तुष्ट रहेका व्यावसायि, पत्रकार, वकिल र न्यायाधीशलाई मात्रै ‘द डार्क फाइल’ अभियानले टार्गेट गर्नुले उनै लामिछानेले प्रतिशोधको लागि उक्त अभियान चलाएको आशंकालाई पुष्टि गर्छ।

‘ग्लोबल नागरिक’ लाई प्राप्त जानकारी अनुसार, तिमल्सिना विभिन्न व्यावसायिक घराना र राजनीतिक व्यक्ति लक्षित आधारहिन आरोप पत्र दर्ता गराउने अभियानमा लागिपरेका छन्। जसको उद्देश्य विभिन्न सरकारी निकायहरुमा तथ्यहिन उजुरी गर्ने र सामाजिक संजालको प्रयोग मार्फत सत्यताको लागि नभई षडयन्त्रको हतियार बनाउने कार्यमा लागेको देखिन्छ।

प्रविधि सुविधा हो कि खतरनाक हतियार ?

नेपालमा बढदै गएको प्रविधिको दुरुपयोग रोक्नको लागि कडा साइबर कानुन लागू गर्नुपर्ने, सर्वसाधारणमा डिजिटल साक्षरता र तथ्य जाँचको सीप सिकाउनुपर्छ र सामाजिक संजालको नियमन र निगरानी गर्नुपर्ने देखिन्छ। प्रविधिले पारदर्शिता, सञ्चार र विकासलाई अगाडि बढाउने ठूलो क्षमता राख्छ । तर त्यसको गलत प्रयोगले समाजलाई गम्भीर नोक्सान पुर्याउन सक्छ । राजकुमार तिमल्सिनाको नक्कली अडियो प्रकरणले नै नेपालमा प्रविधिको चरम दुरुपयोग भैरहेको पुष्टि गर्छ। यदि साइबर अपराध, ब्ल्याकमेलिङ र गलत सूचना प्रवाहलाई समयमै नियन्त्रण गरिएन भने, नेपालको सामाजिक, आर्थिक र राजनीतिक स्थायित्व गम्भीर संकटमा पर्न सक्छ ।

सूचनालाई सत्यताको लागि प्रयोग गर्ने कि षडयन्त्रको हतियार बनाउने ? सबैले मनन गर्नुपर्ने अवस्था आएको छ ।

 

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com