एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्।
त्यस्तै ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनरका’ लागि प्रतिव्यक्ति १० लाख डलर तिरिरहेको भनेर खोज पत्रकारिताका लागि मानिने अमेरिकी पत्रिका वायर्डले लेखेको छ।
गत शनिबारमात्रै मर-आ-लागोमा आयोजित उक्त ‘क्यान्डल लाइट डिनरका’ लागि १० लाख डलर तिरेर आफ्नो सिट बुक गर्न मागा (मेक अमेरिका ग्रेट अगेन) इन्कले दिएको एक निम्तो आफूसँग भएको वायर्डले दाबी गरेको छ। पहिलो आउने, पहिलो पाउने आधारमा बाँडिने त्यस्तो सिट सीमित रहेको भनेर सो निम्तोमा लेखिएको वायर्डले खुलाएको छ।
मर-आ-लागोमा आयोजित रात्रिभोजबारे जानकार एक ट्रम्प समर्थकले भने सो पैसा ट्रम्पका नाममा खोलिने पुस्तकालयका लागि खर्च गरिने बताएको वायर्डले लेखेको छ।
अमेरिकामा राष्ट्रपतिको कार्यकाल सकिएपछि उनीहरूको नाममा पुस्तकालय खोलिने गरिन्छ। अरू पुस्तकालय जस्तो पाठकलाई पुस्तक दिनेभन्दा उक्त राष्ट्रपतिको कार्यकालका महत्वपूर्ण अभिलेख र कागजात संग्रहालयमा जसरी त्यहाँ राखिन्छ। निजी र संघीय सरकारबाट प्राप्त स्रोतबाट त्यस्ता राष्ट्रपतीय पुस्तकालय चलाइन्छ।
तर राष्ट्रपतीय पुस्तकालयका लागि साधारणतय ट्रम्पको नाममा अहिले उठाइरहेको जति ठूलो रकम उठाउने गरिँदैन।
व्यापारीहरूले एक्ला-एक्लै भेट्न र खाना खान ५० लाख डलर र सामूहिक भोजका लागि प्रति व्यक्ति १० लाख डलर तिरेर ट्रम्पलाई अनुचित प्रभाव पार्न सक्ने खतरा उत्पन्न भएको छ। त्यत्रो ठूलो रकम तिरेर उनलाई भेटेका व्यापारीले उनलाई फकाएर आफ्नो व्यापारका लागि फाइदा हुने निर्णय गराउन सक्छन् भन्ने शंका उत्पन्न भएको छ।
उसै पनि ट्रम्प सरकार अमेरिकाका धनाड्यहरूसँग धेरै निकट रहेको भनेर आलोचना भइरहेको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया