काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताको बीचमा ल्याएपछि राप्रपा र राप्रपा नेपालका नेताहरूले अवसरवाद देखाएको आरोप लगाएका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले पूर्वराजालाई सडकमा ल्याउने काम अरू कसैले गर्न नसकेको दाबी गरे। उनले केही वर्षअघि आफूले राजसंस्थाको पुनर्स्थापनाका लागि अभियान थालेको बेला धेरैले आलोचना गरेको स्मरण गराउँदै अहिले भने माहोल नै परिवर्तन भएको बताए।
प्रसाईंका अनुसार, राजसंस्थाको अन्त्य हुनुमा कमल थापा र राजेन्द्र लिङ्देनको पनि ठुलो भूमिका रहेको छ। उनले २०७२ सालमा संविधान जारी गर्ने बेलामा यी दुई नेताले हस्ताक्षर नगरेको भए राजसंस्था जोगिन सक्ने तर्क गरे। ‘त्यसबेला राजसंस्थाको पक्षमा उभिनु पर्ने नेताहरूले समझौतामा हस्ताक्षर गरे, जसका कारण राजसंस्था समाप्त भयो,’ प्रसाईंले भने।
उनले अहिले राजसंस्थाको पक्षमा माहोल बनेपछि थापा र लिङ्देन धमिलो पानीमा माछा मार्न आएको आरोप लगाए। ‘पहिले राजसंस्थाको पक्षमा नबोल्नेहरू अहिले परिस्थिति बन्दै जाँदा फाइदा उठाउन खोज्दैछन्,’ उनले भने।
यसैक्रममा, प्रसाईंले राप्रपाले आफ्नो समर्थन देखाउन काठमाडौं महानगरपालिकामा १ लाख रुपैयाँ तिरेको आरोपसमेत लगाए। ‘के राजसंस्थाको समर्थन पैसाले देखाउन सकिन्छ? यो नाटक होइन र?’ उनले प्रश्न गरे।
प्रसाईंले पूर्वराजालाई पुनः नारायणहिटी दरबारभित्र प्रवेश गराउने अभियानमा आफू लागिपरेको बताउँदै यस विषयमा अब कसैको हस्तक्षेप सह्य नहुने चेतावनी दिए।
प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार













प्रतिक्रिया