जनकपुर । हरेक वर्ष प्रदान गरिदै आएको यस वर्षको महामूर्ख उपाधि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।

Advertisement

रङको र खुशीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ ।

उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए ।होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।

उनले भने, “मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।”

‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सदभावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com