एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ। पछिल्लो समय युक्रेन–रुस युद्ध र अमेरिका–युक्रेन सम्बन्धलाई लिएर उत्पन्न भएका विभिन्न विवादका बाबजुद दुवै नेताबीच शान्त वातावरणमा सकारात्मक छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताको भोलिपल्टै जेलेन्स्कीलाई फोन गरेका थिए। उनले युक्रेन र रुसबीच जारी द्वन्द्व समाधानका लागि आफू सक्रिय रहेको बताएका छन्। ट्रम्पका अनुसार, अमेरिकाको नेतृत्वमा स्थायी शान्ति स्थापनाका लागि पहल भइरहेको छ।

advertisement

यसैबीच, जेलेन्स्कीले पनि टेलिफोन वार्तालाई “खुला र सकारात्मक” रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकासँगको सहकार्यले युक्रेनमा स्थायी शान्ति स्थापनामा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, वार्तामा रुसी नियन्त्रणमा रहेको झाम्पोझरियाको ऊर्जा केन्द्र अमेरिकाको नियन्त्रणमा ल्याउने विषयमा छलफल भएको उनको भनाइ छ। जेलेन्स्कीका अनुसार, उक्त ऊर्जा केन्द्रको सञ्चालन युक्रेनका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण छ।

त्यसैगरी, जेलेन्स्कीले रुसी आक्रमणको सामना गरिरहेका युक्रेनी सेनाबारे पनि चर्चा गरे। उनका अनुसार, युक्रेनी सेना रुसको पश्चिमी सीमावर्ती क्षेत्र कस्कमा रहेका बेला पुटिन पूर्ण युद्धविराम गर्न तयार नहुने स्पष्ट देखिएको छ।

ट्रम्पसँगको वार्तापछि अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनी हवाई सेनालाई थप सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अमेरिकाले युक्रेनसँगको गुप्तचर साझेदारीलाई अझै सशक्त बनाउने र युद्ध रणनीतिबारे थप सूचनाहरू आदानप्रदान गर्ने सहमति भएको उनले बताएका छन्।

यो वार्तालाई युक्रेन–अमेरिका सम्बन्धलाई पुनः मजबुत बनाउने कोशेढुंगा मानिएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com