काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख र उपप्रमुख दुवैप्रति समान रूपमा जबाफदेही हुनुपर्ने स्पष्ट सन्देश दिएकी छिन्।

बिहीबार मेयर बालेन शाहको आदेशमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिन खोजिएको थियो। यस क्रममा राजु पाण्डे नेतृत्वको नगर प्रहरी टोलीले गुरागाईंलाई महानगर कार्यालयको गेटमै रोक्ने प्रयास गरेको थियो।

advertisement

उक्त घटनामा उपप्रमुख डंगोलले नगर प्रहरी प्रमुख पाण्डेसँग सोधिन्, के तपाईंसँग यसबारे लिखित आदेश छ?” जबाफमा पाण्डेले “मौखिक आदेश मात्र आएको छ” भन्दै जवाफ दिए।

यसपछि डंगोलले प्रष्ट रूपमा भनिन्, “तपाईं मेयरसँग जति जबाफदेही हुनुहुन्छ, उपप्रमुखसँग पनि उत्तिकै जबाफदेही हुनुहुन्छ। यदि आदेश दिनुपर्छ भने लिखित हुनुपर्छ, नत्र मौखिक आदेश दिन स्वयं आउनुपर्छ।”

उनले थप भनिन्, “यदि भिडन्त नगर्ने हो भने व्यवस्थापन गर्नुपर्छ। म उपप्रमुखको जिम्मेवारीबाट व्यवस्थापन गर्न निर्देशन दिइसकेकी छु। यदि कुनै समस्या छ भने, मेयर आफैं यहाँ आएर सबैलाई स्पष्ट जवाफ दिनुपर्छ।”

उपप्रमुख डंगोलको यस भनाइसँगै नगर प्रहरी प्रमुख पाण्डे र उपस्थित अन्य अधिकारीहरू मौन देखिए। यस घटनाले महानगरभित्रको आन्तरिक व्यवस्थापनमा रहेको समन्वय अभावलाई पुनः सतहमा ल्याएको छ।

प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com