काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको व्यवहारलाई केवल व्यक्तिगत अन्याय नभई नेपालको संविधान र कानुनी शासनमाथि गम्भीर प्रहार भएको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद गौतमले राज्य संयन्त्रहरू स्वयंले कानुनको पालना नगर्दा र गिरफ्तारीलाई कानुनी आवश्यकता नभई राजनीतिक प्रतिशोधको साधन बनाउँदा लोकतन्त्रको अन्त्य सुरु हुने स्पष्ट पारिन्।

advertisement

उनले लेखेकी छन्, “जब राज्यका संयन्त्रहरू आफैँले कानुनको पालना गर्न छाड्छन् र कसैलाई कानूनअनुसार नभई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिन्छ, त्यो लोकतन्त्रको मृत्युको संकेत हो। हाम्रो पार्टी सभापति माननीय रवि लामिछानेमाथि गरिएको व्यवहार कुनै सामान्य घटना होइन, यो संविधान र कानुनी शासनप्रणालीमाथि नियोजित हमला हो।”

सांसद गौतमका अनुसार, बिना गिरफ्तारी पुर्जी घरभित्र प्रवेश गरी डर त्रास देखाएर उग्र रुपमा गरिएको हस्तक्षेप केवल गल्ती मात्र नभई नेपालको संविधानको धारा २० र न्याय प्रणालीका आधारभूत सिद्धान्तहरूको खुला उल्लङ्घन हो।

उनले थप प्रश्न उठाउँदै भनिन्, “उच्च अदालतको आदेश रातारात जिल्ला अदालतमा पुगेर ट्रायल कोर्टमार्फत प्रक्रियाहरू सम्पन्न गरिनु कसरी सम्भव भयो?” यसले नियोजित कदमको आभास दिने उनको भनाइ छ।

गौतमले राज्य संयन्त्रद्वारा रवि लामिछानेमाथि गरिएको यस प्रकारको बलमिच्याइँको घोर भर्त्सना समेत गरेकी छन्।

प्रकाशित मिति: २३ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com