फाइल तस्वीर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानीको बल्खुमा भव्य विरोध प्रदर्शन तथा आमसभा आयोजना गर्दैछ। प्रारम्भमा भृकुटीमण्डपमा कार्यक्रम गर्न लागिएको भए पनि स्थानीय प्रशासनले अनुमति नदिएपछि स्थान परिवर्तन गरी बल्खुमा सभा गर्न लागिएको हो।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यक्रम आज दिउँसो ११ बजे जुलुसका साथ सुरु हुनेछ भने १२ बजेदेखि आमसभा प्रारम्भ हुनेछ।
“हाम्रो चैत २६ गतेको बागमती प्रदेशस्तरीय सभा र प्रदर्शन अब बल्खुमा हुनेछ,” श्रेष्ठले बताए, “प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि विकल्पस्वरूप बल्खु रोजिएको हो।”
सोही कार्यक्रमको तयारी स्वरूप राप्रपाले हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसमिति बैठकसमेत सम्पन्न गरेको थियो। बैठकले प्रदर्शनलाई अनुशासित, मर्यादित र सभ्य बनाउने निर्णय गरेको प्रवक्ताले जानकारी दिए।
गत चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको राजसंस्थाको समर्थनमा भएको आन्दोलनमा हिंसा भएको पृष्ठभूमिमा आजको प्रदर्शनमा अनुशासनमा विशेष जोड दिइएको छ। राप्रपाले कुनै पनि अप्रिय घटना नहोस् भनेर चनाखो रणनीति बनाएको बताइएको छ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन निकायका सुरक्षाकर्मी परिचालन हुनेछन्। बल्खु र वरपरका क्षेत्रमा करिब दुई हजार प्रहरी खटाइनेछ भने ड्रोन र सीसीटीभीमार्फत निगरानी गरिनेछ।
प्रदर्शनका कारण राजधानीका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ। सवारी व्यवस्थापनका लागि विशेष डाइभर्सन योजना लागू गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार खसीबजार–मकालु मार्ग हुँदै कलंकी चोक–बाफलसम्म एक रुट तय गरिएको छ भने बल्खु चोक–कुलेश्वर–कालिमाटी हुँदै टेकु मार्ग प्रयोग गर्न सल्लाह दिइएको छ। साथै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुना जाने मार्ग पनि विकल्पका रूपमा प्रयोग हुनेछ।
यस्तै, आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वर जाने सवारीलाई समेत वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार













प्रतिक्रिया