काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले मसानघाट पुगेको राजतन्त्रलाई फर्काउने सपना अब कहिल्यै पूरा नहुने बताएकी छन्।

प्युठानमा आयोजित एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले करिब दुई दशकअघि जनताले अन्त्य गरेको राजतन्त्रलाई पुनःस्थापना गर्ने प्रयास व्यर्थ रहेको उल्लेख गरिन्।

advertisement

“इतिहासको पानामा बन्द भएको व्यवस्था पुनः फर्काउन खोज्नु आफ्नै लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाउनु हो,” उनले भनिन्। लामो समयदेखि म्युजियममा थन्किएर बसेका पात्रहरूको समर्थनमा सडकमा उत्रनुपर्ने अवस्था आउनुमा राजनीतिक दलहरूको कमजोरी मुख्य कारण भएको उनको भनाइ छ।

उनले भनिन् – “देशमा परिवर्तन ल्याउने मुख्य भूमिका खेलेका राजनीतिक दलका नेताहरूले अब गम्भीर आत्मसमीक्षा नगर्ने हो भने, लोकतान्त्रिक शक्तिहरूले आगामी चुनावमा ठूलो क्षति बेहोर्नुपर्नेछ।”

झाँक्रीको भनाइमा अहिलेको अवस्थामा दुईवटा मात्र विकल्प बाँकी छन्– पहिलो, आत्मसमीक्षा गर्दै सुध्रिने, र दोस्रो, जनताको विश्वास गुमाउँदै राजनैतिक अस्तित्व गुमाउने।

“हामीले ल्याएको परिवर्तनमाथि आघात पुग्न थालिसकेको छ। यदि समयअनुसार परिवर्तनको मार्गमा हामी स्वयं उभिन सकेनौँ भने, एक दिन सडकमा उत्रिँदा जनताबाटै अपमान सहनुपर्ने परिस्थिति आउन सक्छ,” उनले चेतावनी दिइन्।

साथै, उनले हालको प्रवृत्तिलाई हेर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू नै निकट भविष्यमा स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रन सक्ने सम्भावना पनि औंल्याइन्।

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com