काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ।
काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी प्रान्ज्वल केसीले बुधबार सर्वोच्च अदालतमा सो मुद्दा दायर गरेका हुन्।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश सार्वजनिक भएपछि नेतृ सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायालय र न्यायाधीशको प्रतिष्ठामा आँच पुर्याउने खालका अभिव्यक्ति दिएकी थिइन्।
फेसबुकमा उनले लेखेकी थिइन्, “न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्या छ।”
त्यस यता उनले सामाजिक सञ्जालमा पटक–पटक यस्तै अभिव्यक्तिहरू दिँदै भिडियोहरू समेत सार्वजनिक गरेकी छन्, जसले न्यायालयप्रति आम जनमानसमा भ्रम र अविश्वासको वातावरण सिर्जना गरेको अभियोग लगाइएको छ।
केसीले आफ्नो निवेदनमा सङ्ग्रौलाले अदालतलाई धम्कीपूर्ण भाषा प्रयोग गरी डर र त्रासको वातावरण बनाउने प्रयास गरेको र न्यायाधीशको मानमर्दन गरिएको उल्लेख गरेका छन्। उनले आफू कानुनको विद्यार्थी भएको र नेतृ सङ्ग्रौलाको यस्तो व्यवहारले आफ्नो मर्यादामा समेत आँच पुगेको दाबी गरेका छन्।
अदालत निष्पक्ष र निर्भीक रहनुपर्ने भन्दै उनले सङ्ग्रौलालाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्। साथै, न्याय प्रशासन ऐन २०७३ को दफा १७(४) अनुसार एक वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना माग गरिएको छ।
प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार













प्रतिक्रिया