काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ दिँदै आफूहरूमाथि लागेको आरोपको खण्डन गरेका छन् । धरानमा भइरहेको खानेपानी योजनामा अनियमितता भएको भनी परेको उजुरीपछि अख्तियारले स्पष्टीकरण मागेको थियो । जवाफस्वरूप मेयर साम्पाङले भ्रष्टाचारका ठूला मुद्दाहरू जस्तै मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी काण्डजस्ता विषयतर्फ ध्यान नदिई श्रमदानजस्ता जनपक्षीय कार्यको आलोचना नगर्न चेतावनी दिएका छन् ।

मेयर साम्पाङले यसअघि माघ ११ गते नै आफ्नो भनाइ दिँदै प्रश्न गरेका थिए, “त्यो उजुरी हाल्ने व्यक्तिले कति वटा पाइप किनेर दिएको छ ?” उनले पुनः विस्तृत जवाफ पठाउँदै स्पष्ट पारेका छन् कि धरान खानेपानी बोर्ड एक स्वायत्त संस्था हो, र त्यसले नगरवासीलाई पानी उपलब्ध गराउन आवश्यक सबै उपायहरू अपनाउन सक्छ ।

advertisement

साम्पाङले आफ्नो स्पष्टीकरण पत्रमा पानीको अपरिहार्यता दर्शाउँदै लेखेका छन्, “बिहान उठ्नेबित्तिकै ट्वाइलेट जानुपर्छ, तर ट्वाइलेटमा पानी नभए के गर्नु ? केहीबेरमा भात पकाउनु पर्‍यो, भात पकाउन पनि पानी चाहिन्छ । भात खाएपछि हातमुख धुन, भाँडा माझ्न, लुगा धुन, नुहाउन, बगैँचा सिँचाइ र चौपाया पशुपंक्षीलाई पानी खुवाउन पनि पानीको आवश्यकता पर्छ । पानी बिना जीवन नै असम्भव हुन्छ ।”

उनले भनाइ थप्दै भनेका छन्, “जनताको जीवन रक्षा गर्न, जीवन चलाउन पानी अनिवार्य भएकाले मैले जसरी भए पनि काम गर्नु मेरो कर्तव्य हो । हामीले श्रमदानको बाटो रोज्नुको कारण नै यही हो । केन्द्र सरकारसँग पटक–पटक कोशीबाट पानी ल्याइदिन अनुरोध गर्दा नसुनेपछि गाग्री बोकेर म स्वयं सिंहदरबार पुगेँ ।”

“श्रमदान राजनीतिको विषय होइन”

मेयर साम्पाङले धरानको कोकाहा खानेपानी श्रमयोजना–२ हाल स्थानीय सहयोग र बोर्डको स्वायत्त अधिकार प्रयोग गरी सञ्चालनमा रहेको उल्लेख गरेका छन् । साथै, उनले अख्तियारका अधिकारीहरूलाई स्वयं मुहानदेखि धरानसम्म हिँडेर पाइप गनेर परियोजना अनुगमन गर्न समेत आमन्त्रण गरेका छन् ।

साम्पाङले राजनीतिक स्वार्थ पानी जस्तो आधारभूत आवश्यकतामा प्रयोग नगर्न आग्रह गर्दै भनेका छन्, “यदि जनताले पानी नपाउने अवस्था आयो भने, अब जनता नै अख्तियारमा पानी माग्न आइपुग्ने छन् ।”

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com