ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको एक जिपमा अकस्मात् आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। आइतबार बिहान पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा भएको उक्त दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
मृत्यु हुनेहरूमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर–१५ निवासी ७० वर्षीय बिनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल तथा ताप्लेजुङ फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय चालक दुर्गा भट्टराई रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी आध्याकी आमा सविना आचार्य (४५) र उनका १० वर्षीय छोरा अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। सविनाको शरीरको अधिकांश भाग जलेको हुनाले गम्भीर अवस्थामा रहेकी उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
सवारी साधनको अगाडि अकस्मात् आगो सल्किनुको कारण हालसम्म स्पष्ट नखुले पनि प्रारम्भिक अनुमान अनुसार हाइटेन्सन लाइनको विद्युत् तार सवारीमाथि खस्दा आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ। दुर्घटनाग्रस्त जिपको नम्बर मे १ ज ३०११ रहेको बताइएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया