काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)लाई समाप्त पार्ने प्रयासहरू असफल भएको दाबी गर्दै पार्टीप्रति जनताको विश्वास यथावत् रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले देशको सबैभन्दा लोकप्रिय पार्टी भएको उल्लेख गरे । उनले पार्टीमाथि पटक–पटक आक्रमण, बदनाम गर्ने षड्यन्त्र र विभाजनका प्रयासहरू भइरहँदा पनि जनताको साथले एमाले अझ सशक्त भएर उभिएको बताए ।
“हामीमाथि अनेकौँ षड्यन्त्र र आरोप लागे, तर जनतामाझ पुग्यौं, विश्वास जित्यौं। नेकपा (एमाले) समाप्त हुँदैन, किनभने हाम्रो लक्ष्य उच्च र महान् छ,” ओलीले भने । उनले विगतमा दुई पटकसम्म पार्टी फुटाउने कोसिस भएको स्मरण गर्दै, यस्ता चुनौतीहरूलाई पार्टीले सफलतापूर्वक पार गरेको र अझ मजबुत बनेको बताए।
“हामीले ती दुस्साहसलाई परास्त गरेका छौँ। अब ‘मिशन ८४’ मार्फत नेकपा (एमाले)लाई देशको निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने हाम्रो साझा लक्ष्य हो,” उनले थपे।
ओलीले एमालेको ऐतिहासिक संघर्ष र आन्दोलनप्रति गर्व गर्नुपर्ने उल्लेख गर्दै, जनताको अटुट समर्थन र बलियो संगठनात्मक संरचनाको बलमा पार्टी अझ अगाडि बढ्ने व्यक्त गरे ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया