काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न कहिल्यै सिकाउँदैन भनेकी छन्।
लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले एमालेप्रतिको आस्था र मन पर्ने कारण पनि स्पष्ट पारिन्।
“एमालेले कसैको घर जलाउन सिकाउँदैन, न कतै लुटपाट गर्न युवाहरूलाई प्रयोग गर्छ,” डंगोलले भनिन्, “बरु, दश नङ्ग्रा खियाएर राष्ट्रका लागि इमान्दारीपूर्वक काम गर्न प्रेरित गर्छ। त्यसैले मलाई एमाले मन पर्छ।”
उनले सामाजिक सञ्जालमा उग्र टिप्पणी वा विभाजन सिर्जना गर्ने संस्कार एमालेको नभएको प्रष्ट पार्दै भनिन्, “एमालेले राम्रो कामको प्रचार गर्न युवाशक्तिको सदुपयोग गर्छ, उग्रता होइन।”
कार्यक्रममा बोल्दै डंगोलले देश निर्माणका लागि ‘स्टन्ट’ होइन, कर्म आवश्यक भएकोमा जोड दिइन्। “स्टन्ट गरेर देश बन्दैन, काम गरेर मात्र देश बनाउँछ,” उनले युवालाई प्रेरित गर्दै भनिन्, “हामी काम गर्ने युवा बन्नुपर्छ।”
हाल आफ्नो पार्टी र आफूलाई विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै उनले थपिन्, “चारैतिरबाट आक्रमण भइरहेको महसुस हुन्छ, तर हामी विचलित हुनेछैनौं। राष्ट्र निर्माणमा अझ दृढ भएर लाग्नेछौं।”
उनले आफू सधैं आफ्नो जिम्मेवारी र पदप्रति बफादार भएर काम गरिरहेको पनि स्पष्ट पारिन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया