काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रप्रेमी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरन्तर आक्रमण भइरहेको दाबी गरेकी छन्।
एमालेद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै डंगोलले आफूमाथि भइरहेका आक्रमणहरू राष्ट्रविरोधी तत्त्वबाट भएको बताइन्। उनले यस्ता आक्रमणहरू आफू मात्र नभई पार्टी र अध्यक्ष ओलीसमेतको विरुद्धमा भइरहेको स्पष्ट पारिन्।
“यो ममात्र होइन, पार्टी र श्रद्धेय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले राष्ट्रका लागि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारण निरन्तर आक्रमण सहनु परेको छ,” डंगोलले भनिन्, “यस्ता आक्रमणकारी तत्त्वहरू अझै सक्रिय छन्।”
उनले २०७२ सालको विनाशकारी भूकम्पपछिको समय स्मरण गर्दै ओलीको नेतृत्वमा राष्ट्र पुनर्निर्माणका कामहरू अघि बढेको उल्लेख गरिन्। “उहाँले कठिन समयमा देशलाई अगाडि बढाउन नेतृत्व गर्नुभयो,” उनले भनिन्, “तर त्यसैबेला केही तत्वहरू झूटो आरोप लगाएर बदनाम गर्न पनि सक्रिय भए।”
डंगोलले २१औँ शताब्दीका युवाले सत्य–झूट छुट्याउन जान्नुपर्नेमा जोड दिँदै अफवाह र भ्रमको पछि नलाग्न आग्रह गरिन्। “फटाहा तत्वहरूले फैलाएको भ्रम होइन, सत्य बुझ्ने प्रयास गर्नुपर्छ,” उनले भनिन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया