काठमाडौं — युक्रेनको राजधानी कीएभमा बिहीबार बिहान भएको रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ९ जनाको ज्यान गएको छ भने ६० भन्दा बढी मानिस घाइते भएका छन्। युक्रेनको राज्य आपत्कालीन सेवाले यो आक्रमणलाई राजधानीमा भएको अहिलेसम्मकै एक घातक हमला भएको बताएको छ।
टेलिग्राममार्फत दिइएको जानकारीअनुसार कीएभका पाँचवटा जिल्ला आक्रमणबाट प्रभावित भएका छन्। सरकारी कार्यालयहरूमा आगलागी भएको छ भने आवासीय भवनहरूमा समेत ठूलो क्षति पुगेको छ। भग्नावशेषमुनि परेकाहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
अस्पतालमा भर्ना गरिएकामध्ये छ जना बालबालिका रहेको अधिकारीहरूले बताएका छन्। राजधानीभर विस्फोटको आवाज सुनेको एएफपीका पत्रकारहरूले जानकारी दिएका छन्।
कीएभमा हालैका वर्षहरूमा भएको आक्रमणमध्ये यो एकदमै भयावह रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेपछि राजधानीमा यस्तो स्तरको हमलाले जनधनको ठूलो क्षति पुर्याएको यो पहिलोपटक हो।
यसैबीच, युक्रेनको पूर्वी सहर खार्किभमा पनि बिहीबार बिहान मात्र सातवटा मिसाइल प्रहार भएका छन्। सहरका मेयर इगोर टेरेखोभका अनुसार यो एकै रातमा दोस्रोपटक भएको क्रुज मिसाइल आक्रमण हो। तीमध्ये एउटा आक्रमण घना बस्ती भएको आवासीय क्षेत्रमा परेको थियो, जसमा दुई जना घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री यरमाकले रूसले हाल कीएभ, खार्किभ र अन्य सहरहरूमा मिसाइल र ड्रोनमार्फत संयुक्त हमला गरिरहेको बताएका छन्। उनले नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया