काठमाडौं — नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले मुलुक विकासका लागि स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च होइन, लगानीको रूपमा बुझ्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, “देशको जीडीपीको ४०–४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था छैन। तर, त्यो ऋण प्रतिफल दिने योजनामा खर्च भएको छ कि छैन भन्ने कुरा भने महत्वपूर्ण हुन्छ।”
नेता घिमिरेले स्रोत व्यवस्थापनबिना मुलुक निर्माण असम्भव रहेको उल्लेख गर्दै भने, “अन्तर्राष्ट्रिय लगानी बढाउन नसकेसम्म हामीले देश बनाउन सक्दैनौं। त्यसैले स्रोत जुटाउन लिएको ऋणलाई खर्चको रूपमा होइन, लगानीको रूपमा बुझ्नुपर्छ।”
उनले विगत २० वर्षमा केवल व्यवस्था बद्लिएको तर अवस्था बद्लिएको छैन भन्ने तर्कलाई अस्वीकार गर्दै व्यवस्थासँगै अवस्थाको पनि परिवर्तन भएको दाबी गरे।
विद्युत उत्पादनको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले भने, “पर्यटन बजारले लय समात्दै छ, व्यापार घाटा घट्दो क्रममा छ, भुक्तानी सन्तुलन इतिहासमै सबभन्दा राम्रो अवस्थामा छ, वैदेशिक मुद्रा सञ्चितीले रेकर्ड तोडेको छ र सरकारको चालू बचत खाता समेत धनात्मक अवस्थामा रहेको छ।”
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया