काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार परिवर्तनको चर्चाबारे टेलिफोन संवाद गरेका छन्।

सभापति देउवा थाइल्यान्डको बैंककमा रहेका बेला बिहीबार साँझ प्रधानमन्त्री ओलीले उनलाई फोन गरी सरकार परिवर्तनको हल्लाबारे जिज्ञासा राखेका हुन्। यो जानकारी परराष्ट्रमन्त्री तथा देउवाकी पत्नी डा. आरजु राणा देउवाले दिएकी हुन्।

advertisement

शुक्रबार बैंककबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले प्रधानमन्त्री र सभापति देउवाबीच टेलिफोन वार्ता भएको पुष्टि गरिन्।

पत्रकारको प्रश्नको जवाफमा मन्त्री राणाले भनिन्, “तपाईंहरू नै भन्नुहुन्छ ‘हल्ला’ भनेर। यस्ता हल्लाहरू त देशमा खासै कुरै नहुँदा मनोरञ्जनको विषय बन्छन्। सरकार परिवर्तन नेपालमै बसेर गर्ने कुरा हो, विदेशबाट त सरकार फेर्ने होइन् नि। हामी त आफैं चकित भयौँ, हिजो समाचार हेर्दा।”

उनका अनुसार त्यसै दिन साँझ प्रधानमन्त्री ओलीले देउवालाई फोन गरी सोधे, “के हो यो सरकार परिवर्तनको कुरा?” जवाफमा सभापति देउवाले भने, “कुनै यथार्थता छैन, केही पनि भएको छैन।”

प्रधानमन्त्री ओलीले बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै सरकारको चिन्ता गर्नुको सट्टा अबको चुनावप्रति ध्यान दिनुपर्ने बताएका थिए। उक्त अभिव्यक्तिप्रति मन्त्री राणाले सकारात्मक प्रतिक्रिया दिइन्।

उनले भनिन्, “प्रधानमन्त्रीज्यूले राम्रो भन्नुभयो। स्थायित्वको सन्देश दिनु भयो। सरकार टिकाउने चिन्ताले होइन, चुनावमा केन्द्रित भएर जानु नै उचित हो।”

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com