अछाम । अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार बिहान भीषण आगलागी हुँदा ३ करोड ८६ लाख ६५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीले १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
जलेर नष्ट भएका पसलहरूमा गंगा कुँवरको ‘कालभैरव एण्ड सन्स जनरल स्टोर’, प्रेम खड्काको ‘शुभेच्छा मम सेन्टर’, भीम कुँवरको ‘रोड साइड रेस्टुरेन्ट’, दीपक सुनारको ‘कालभैरव सुनचाँदी पसल’, ज्ञानेन्द्र कुँवरको ‘डाग ग्यालरी’, टीका कुँवरको ‘टीका फेन्सी एण्ड ब्युटी पार्लर’, सुरेश कुँवरको ‘शीतल नास्ता पसल’, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको ‘रिभर साइड नास्ता पसल’ र सुमन कुँवरको ‘राज्यश्वरी कृषि तथा पशुपन्छी फर्म’ रहेका छन्।
नेपाल बैंकमा जडान गरिएको साइरन बज्नासाथ स्थानीय व्यापारी तथा बासिन्दाहरू आगलागी नियन्त्रणमा जुटेका थिए। स्थानीय व्यापारी भीम कुँवरका अनुसार, साइरन नबजेको भए आगलागी अझ फैलन सक्ने खतरा थियो। प्रारम्भिक अनुसन्धानमा शुभेच्छा मम सेन्टरमा विद्युत् सर्ट भएर आगो लागेको पुष्टि भएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणको प्रयासमा गीता कठायतको पक्की घर भत्काउनु परेको थियो। उक्त घर भत्काइएपछि आगो अन्य पसलहरूमा फैलिन नपाएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि पनि गत चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भीषण आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार













प्रतिक्रिया