काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहित हिन्दुराज्यको पक्षमा आवाज उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कडा चुनौती दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद रिजालले राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई लक्षित गर्दै प्रश्न गरे, “यदि आज राजसंस्था पुनर्स्थापना हुन सक्छ भने किन राणाशासन नफर्काउने ?”
उनले थपे, “तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशमशेरबीच भएको सम्झौताबाट राणाशासनको अन्त्य भएको हो। २०६५ जेठ १५ गतेबाट राजसंस्थाको औपचारिक अन्त्य भइसकेको छ। अहिले फेरि श्री ५ फर्काउने कुरा उठ्दैछ भने, श्री ३ किन फर्काउन नहुने ?”
रिजालले व्यङ्ग्य गर्दै भने, “यदि ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई राजगद्दी दिन सकिन्छ भने, राप्रपाले मोहनशमशेरका नाति पशुपतिशमशेर राणालाई पनि उचित न्याय दिनुपर्छ — उनलाई श्री ३ बनाउनु पर्छ।”
राप्रपा हाल राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय अभियानमा रहेको छ। तर एमाले सांसद रिजालले यसको औचित्यमाथि प्रश्न उठाउँदै विगतका राजनीतिक घटनाक्रम सम्झाएका छन्।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया