काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटबाट सत्तारुढ दलका सहमहामन्त्रीका छोरा रक्सी चोरेको आरोप लगाएका थिए। शुक्रबारको प्रतिनिधिसभा बैठकमा लिङ्देनले उक्त आरोप लगाउँदै पक्राउ परेका व्यक्तिलाई सहमहामन्त्रीको छोरा भएको थाहा पाएपछि प्रहरीले तत्कालै छाडेको प्रमाण आफूहरूसँग रहेको दाबी गरेका थिए।

यद्यपि लिङ्देनले सो अवसरमा कुनै नेताको नाम सार्वजनिक गरेका थिएनन्। तर, मिडियामा प्रकाशित समाचारहरूमा रक्सी चोरीको आरोप नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरासँग जोडिएको देखिएको थियो। यादव र उनका छोराले भने सो आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्।

advertisement

राप्रपा अध्यक्ष लिङ्देनको उक्त टिप्पणीपछि आइतबारको प्रतिनिधिसभा बैठक तातेको थियो। बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आकस्मिक समय लिएर कडा आपत्ति जनाए। उनले लिङ्देनलाई आरोप प्रमाणित गर्न वा संसद्को रेकर्डबाट हटाउन चेतावनी दिए।

घिमिरेले भने, “कसका छोरा रक्सी चोरेर हिँडे भनेर ठोस प्रमाण पेस गर्नुपर्छ। प्रमाण नभएमा यस्तो गम्भीर आरोप संसद्को रेकर्डबाट हटाइनुपर्छ।” उनले थपे, “सहमहामन्त्री भन्ने पद नेपाली कांग्रेसमा मात्र भएकाले आरोप सिधै कांग्रेसमाथि परेको छ।”

जवाफमा, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विशेष समयमा प्रतिक्रिया दिएका थिए। उनले लिङ्देनले सत्तारुढ दलका सहमहामन्त्रीको छोराले चोरी गरेको भनेको भए पनि न कुनै नाम न कुनै पार्टी खुलाइएको स्पष्ट पारे।

शाहीले कटाक्ष गर्दै भने, “पहिला पहिला भनिन्थ्यो, चोरलाई खुट्टा काट भनेपछि चोरले आफैं खुट्टा लुकाउँथ्यो। आज संसदमा त्यही अवस्था देखियो। हामीले नाम नलिँदा पनि कोही किन आत्तिएको?”

यस प्रकरणले सत्तारुढ नेपाली कांग्रेस र राप्रपाबीच संसदमा कडा रस्साकस्सी निम्त्याएको छ। कांग्रेसले प्रमाण माग गरिरहेकै अवस्थामा राप्रपा भने आफ्नो अडानमा उभिएको देखिएको छ।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com