नयाँ दिल्ली, — पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चुलिएको हो , जसको असर दुवै देशको हवाई यातायातमा देखिएको छ। पाकिस्तानले भारतीय उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डिया ठूलो आर्थिक क्षतिको सामना गर्नुपर्ने अवस्थामा पुगेको छ।
पाकिस्तानी हवाई क्षेत्र वर्षभर बन्द रहने हो भने एयर इन्डियाले करिब ४ अर्ब ६० करोड अमेरिकी डलर (५० अर्ब ५३ करोड भारतीय रुपैयाँ) बराबरको अतिरिक्त लागत बेहोर्नुपर्ने कम्पनीको दाबी छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, एयर इन्डियाले यो घाटाको क्षतिपूर्तिको माग गर्दै भारत सरकारलाई अनुदान दिन आग्रह गरेको छ। अप्रिल २७ मा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा, एयर इन्डियाले हवाई क्षेत्र प्रतिबन्धका कारण बढेको लागत पुरा गर्न सरकारी सब्सिडी मोडेल लागू गर्न प्रस्ताव राखेको उल्लेख छ।
एयर इन्डियाले पत्रमा भनेको छ, “प्रभावित अन्तर्राष्ट्रिय उडानहरूका लागि अनुदान एक उचित, लचिलो र दीर्घकालीन समाधान हुन सक्छ।”
एयर इन्डिया, इन्डिगो र स्पाइसजेट लगायत प्रमुख भारतीय विमान कम्पनीहरूले अप्रिल २२ मा पहलगाममा भएको हमलापछि उत्पन्न परिस्थितिबारे नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराउँदै आफ्ना सुझाव पठाएका थिए। मन्त्रालयले पाकिस्तानी हवाई क्षेत्र बन्दको प्रभावको मूल्याङ्कन गरिरहेको र समाधानका सम्भावित विकल्पहरूमा छलफल भइरहेको बताइएको छ।
पाकिस्तानले अप्रिल २४ देखि भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको हो।
हवाई क्षेत्र बन्दको प्रभाव के पर्छ?
उत्तर भारतबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुँदा उडान दूरी र समय बढेको छ। यसका कारण प्रति हप्ता झण्डै ७७ करोड रुपैयाँको इन्धन लागत थपिने भारतीय उड्डयन क्षेत्रको अनुमान छ।
पीटीआईको विश्लेषणअनुसार, हवाई क्षेत्र बन्दको असरले भारतीय विमान कम्पनीहरूको मासिक सञ्चालन खर्च ३०६ करोड रुपैयाँभन्दा बढी पुग्ने देखिएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया