जनकपुर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गणतन्त्रको विरोधमा भइरहेका गतिविधिमाथि कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई आफ्नो पार्टीले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

शनिबार जनकपुरधाममा सम्पन्न एमालेको धनुषा जिल्ला आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले भने, “श्री ५ बा र श्री ५ नातिको व्यवस्थालाई एमालेले अस्वीकार गर्छ। हामी त्यस्ता सत्ताविरुद्ध एक्लै परे पनि डटेर लड्नेछौं र अन्ततः पराजित गर्नेछौं।”

advertisement

उनले पूर्वराजालाई नागरिकको हैसियतमा स्वीकार गर्दै सत्तामा फर्कन चाहने हो भने लोकतान्त्रिक बाटो रोज्न सुझाव दिए। “पूर्वराजा अब एक सामान्य नागरिक हुन्। यदि सत्ता नै चाहिएको हो भने निर्वाचनमा प्रतिस्पर्धा गर्नु पर्छ,” पोखरेलले भने।

नेपाली कांग्रेससँगको सम्बन्धको सन्दर्भमा पोखरेलले व्यङ्ग्यात्मक लहजातमा टिप्पणी गर्दै भने, “हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ। मिठास त छ, तर ताल फरक–फरक छन्।” उनले सहकार्य र प्रतिस्पर्धा दुवैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

पञ्चायती शासन र हालको लोकतान्त्रिक व्यवस्थाको तुलना गर्दै पोखरेलले मुलुकले ठूला विकासका फड्को मारेको दाबी पनि गरे। “पञ्चायतकालमा जम्मा २५ हजार किलोमिटर सडक थियो, अहिले त्यो बढेर १ लाख १० हजार किलोमिटर पुगेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारमा अभूतपूर्व सुधार आएको छ,” उनले जनाए।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुली कुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतो लगायत नेताहरूको उपस्थिति थियो। अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com