काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक प्रणालीप्रति सबैभन्दा बढी माया र प्रतिबद्धता कांग्रेसको रहेको बताएका छन्। सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले धेरै दुःख र कठिनाइ सहेर यो प्रणाली जोगाइरहेको बताए।

शहीद सुखदेव महतोको अर्धकदको सालिक अनावरण गर्दै नेता निधिले भने, “संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हो।” उनले कांग्रेसले सहिष्णुताका साथ सरकारमा रहेका बेला पनि गठबन्धनको भावना अनुसार काम गरिरहेको उल्लेख गरे।

advertisement

निधिले आगामी १३ महिनापछि पार्टी सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग भएको सातबुँदे सहमति अनुसार पुनः प्रधानमन्त्री बन्ने बताए। “देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसले देखेका सपना पुरा गर्न सहजता आउनेछ,” उनले दाबी गरे।

पार्टीका पूर्वउपसभापति समेत रहेका निधिले, पछिल्लो समय मधेस प्रदेशमा योजना छनोटको विषयलाई लिएर उठेका आलोचनाहरूप्रति चिन्ता व्यक्त गर्दै प्रदेशलाई बदनाम गर्ने गतिविधिमा नलाग्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। “जनताले देखेको विकासको सपना बदनाम गर्ने हैन, अझ सशक्त बनाउनेतर्फ लाग्नुपर्छ,” उनले जोड दिए।

२०५९ साल वैशाख २१ गते तत्कालीन विद्रोही पक्षद्वारा घाँटी रेटेर हत्या गरिएका कांग्रेस नेता तथा पूर्व अत्रौली गाविस अध्यक्ष सुखदेव महतोको सम्झनामा बनाइएको सालिक उद्घाटन कार्यक्रममा कांग्रेस नेता तथा मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायत नेताहरूको उपस्थिति थियो।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com