काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले फेरि आन्दोलन सुरु गर्ने तयारी गरेको छ। समितिका संयोजक नवराज सुवेदीको आह्वानमा आज राजधानी काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे बैठक बस्न लागेको छ।
समितिका प्रवक्ता स्वागत नेपालका अनुसार आजको बैठकले आन्दोलनको नयाँ कार्ययोजना तय गर्नेछ। “अब ढिला गरिन्न, सत्तापक्षलाई निर्णायक धक्का दिन सक्ने खालको आन्दोलन आजै घोषणा हुनेछ,” उनले बताए।
संयोजक सुवेदी केही समय अघिसम्म अघोषित नजरबन्दमा थिए। उनी गत साता मात्रै मुक्त भई पुनः समितिको नेतृत्वमा फर्किएका हुन्। यसअघि तीनकुनेमा भएको आन्दोलनपछि सरकारले उनलाई निगरानीमा राखेको थियो भने समितिका सदस्य सचिव डा. रवीन्द्र मिश्रलाई हिरासतमा लिएको थियो। मिश्रको हिरासत म्याद हिजो छैटौं पटक थपिएको छ।
समितिका कार्यवाहक संयोजक रहेका डा. जगमान गुरुङ बैठकमा सहभागी हुने तयारीमा छन् भने हिरासतमा रहेका मिश्रको उपस्थिति नहुने समितिले जनाएको छ। यसैगरी, आन्दोलनमा सक्रिय जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा भने हाजिरी जमानीमा छुटेका छन्।
राजसंस्था समर्थक शक्तिहरू लामो समयपछि फेरि संगठित भएर सक्रिय हुने संकेत दिँदै आजको बैठक निर्णायक हुने जनाइएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार













प्रतिक्रिया