काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल आफ्नो पार्टीको प्राथमिकता सरकार निर्माणमा नभएको स्पष्ट पारेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकार जनताको मनबाट पहिल्यै ढलिसकेको टिप्पणी गरे।
प्रचण्डले भने, “अहिले हाम्रो ध्यान सरकार बनाउनेतर्फ छैन, हामी जनतामाझ जान्छौं। जादु चलाउन चाहियो भने चलाउन सकिन्छ, तर अहिले त्यो गर्ने मनसाय छैन।”
उनले आगामी दिनमा पार्टीको अभियान ‘मध्यपहाडी लोकमार्ग’ केन्द्रित हुने जनाए। “हामी अब मध्यपहाडी लोकमार्ग अभियानमा लाग्दैछौं,” उनले थपे।
प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बदल्न फकाउने प्रयास पनि आफूले नगरेको बताए। “कसैलाई फकाउने खेलमा छैनौं। यो सरकार आफ्नै बोझले ढल्नेछ,” उनले भने।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति पनि प्रचण्डले असन्तुष्टि जनाए। उनले नीति तथा कार्यक्रमलाई औपचारिकता मात्र पूरा गर्ने ‘कर्मकाण्डी’ दस्तावेजको संज्ञा दिए।
उनको आरोप थियो— “यो नीति तथा कार्यक्रम जनभावना र राष्ट्रिय आवश्यकता अनुसार बनेको छैन। जनतासँग संवाद गर्दा उठेका सरोकारहरू बेवास्ता गरिएको छ।”
“गतवर्षको नीति तथा कार्यक्रमलाई नै कपिपेस्ट गर्नु झारा टार्ने शैली हो। यति समयमै धेरै परिवर्तनहरू आएका छन् तर नीति तथा कार्यक्रममा नयाँपन, सिर्जनात्मकता वा जनपक्षीय दृष्टिकोण झल्किएको छैन,” प्रचण्डको भनाइ थियो।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार













प्रतिक्रिया