काठमाडौं — सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन तोकिएको म्यादमा सम्पन्न नहुनुका विषयमा प्रतिनिधि सभामा गम्भीर प्रश्न उठाइएको छ।
नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सोमबारको संसद बैठकमा बोल्दै पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माण नपुगेकोप्रति आपत्ति जनाए। उनले अब फेरि म्याद थपिने भए त्यसको स्पष्ट समयसीमा तोकिनुपर्ने र त्यसभित्रै कार्य सम्पन्न हुने ग्यारेन्टी हुनुपर्ने धारणा राखे।
“हामी अहिले संसदको बैठकमा छौं, यो बहस नयाँ संसद भवनमै हुनुपर्ने हो,” उनले भने, “गत वर्ष सभामुख देवराज घिमिरे, राष्ट्रपति रामचन्द्र पौडेल, र विभिन्न समितिहरूले समेत निर्माण स्थलको अनुगमन गरेका थिए। चैत १८ गते म्याद सकिएको रहेछ। अब म्याद थप्ने हो भने कति समय थप्ने, र त्यो थपिएको समयभित्र काम सकिने हो कि होइन भन्ने सुनिश्चित गर्नुपर्छ।”
गैरेले संसद भवन निर्माण कार्यमा ढिलाइ हुनु आफैंमा परियोजनामा सुशासन र पारदर्शिता अभावको संकेत भएको टिप्पणी गरे। “सिंहदरबारभित्रको यो ढिलाइले देशभरि नै गलत सन्देश दिन्छ,” उनले भने, “यो सत्तापक्ष वा प्रतिपक्षको मात्र विषय होइन, सिंगो संसदको ध्यानाकर्षणको विषय हो।”
उनले अब हुने म्याद थपको स्पष्ट कार्ययोजना सार्वजनिक हुनुपर्ने र काम नपुगेको अवस्थामा को जिम्मेवार हुनेछ भन्ने कुरामा समेत स्पष्टता हुनुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया