काठमाडौं । जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानको आतङ्कवादी संरचनामाथि मिसाइल हमला गरेको छ। भारतीय सेनाका अनुसार पाकिस्तान तथा पाकिस्तानद्वारा नियन्त्रित कश्मिरका आतङ्ककारी केन्द्रहरूलाई लक्षित गर्दै ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सञ्चालन गरिएको हो।
भारतीय सरकारद्वारा जारी वक्तव्यमा भनिएको छ, “अपरेशन सिन्दूर अन्तर्गत पाकिस्तान र पाकिस्तान स्वशासित कश्मिरमा रहेका ती स्थानहरूलाई निशाना बनाइएको हो, जहाँबाट भारतविरुद्ध आतङ्कवादी योजनाहरू बनाइँदै आएका थिए र ती योजनाहरू कार्यान्वयनमा समेत ल्याइएको थियो।”
भारतीय सञ्चारमाध्यम ‘द भाष्कर’को रिपोर्टअनुसार मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा गरिएका हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रमा गोलाबारी र विस्फोट भएको छ।
भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसिएको हो, जब २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूलाई लक्षित गर्दै गराइएको आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको र पाकिस्तानले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।
भारतीय सेनाले आफ्नो आधिकारिक एक्स (X) अकाउन्टमार्फत भनेको छ, “पाकिस्तानले फेरि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ र भारतीय सेनाले त्यसको सशक्त जवाफ दिइरहेको छ।”
भारतले नौवटा लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरे पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भने आफ्नो एक्स अकाउन्टमार्फत पाँचवटै स्थानमा आक्रमण भएको उल्लेख गरेका छन्।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया