काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत हवाई हमला गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। पछिल्ला घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको ध्यान समेत खिचेको छ।
भारतको यो सैन्य कारबाही जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्ता पछि भएको हो। भारतले उक्त हमला आतङ्कको प्रतिकारस्वरूप भएको दाबी गर्दै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा हवाई हमला गरेको जनाएको छ।
मानव क्षति र प्रतिक्रियाहरू
पाकिस्तानका विदेशमन्त्री इसहाक डारले हवाई हमलामा आठ पाकिस्तानी नागरिकको मृत्यु भएको र ३५ जना घाइते भएको पुष्टि गरेका छन्। यता भारतीय सेनाले पाकिस्तानबाट भएको गोलीबारीमा तीन भारतीय नागरिकको ज्यान गएको जानकारी दिएको छ।
युद्धको डरका कारण दुवै देशमा विभिन्न क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरिएका छन्। साथै, भारतको सैन्य कारबाहीपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगो जस्ता प्रमुख विमान सेवाहरूले सम्बन्धित क्षेत्रमा हुने उडानहरू रद्द गरेका छन् भने यात्रुहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ।
अन्तर्राष्ट्रिय चासो र प्रतिक्रियाहरू
भारतको आक्रमणप्रति पाकिस्तानले कडा आपत्ति जनाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) मा मुद्दा उठाएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘भारतको आक्रमण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा हो। पाकिस्तानलाई संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अनुसार आत्मरक्षाको पूर्ण अधिकार छ।’
पाकिस्तानका विदेशमन्त्री डारले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘भारतको आक्रमण पाकिस्तानको सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र चार्टरको खुला उल्लङ्घन हो। पाकिस्तान यसको घोर निन्दा गर्दछ।’
सीमामा तनावपूर्ण अवस्था
पाकिस्तान सरकारले भारत-नियन्त्रित कश्मीरको एक सीमावर्ती सैन्य पोस्टमा भारतीय सैनिकहरूले सेतो झन्डा फहराएको दाबीसमेत गरेको छ। यो दाबी पाकिस्तान सरकारको आधिकारिक एक्स एकाउन्टमार्फत सार्वजनिक गरिएको हो। यद्यपि अलजजिरा जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएका छन्।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले पनि सोही दाबी दोहोर्याउँदै भनेका छन्, ‘पहिले अनुसन्धानबाट भागे, अब मैदानबाट।’
भारत–पाकिस्तानबीचको यो ताजा तनावले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ। परिस्थितिको गम्भीरतालाई हेर्दा दुवै देशलाई संयम अपनाउन र वार्ताको बाटो अवलम्बन गर्न विभिन्न मुलुकहरूले आह्वान गरेका छन्।
यस्तो संवेदनशील अवस्थामा स्थिति थप जटिल नहोस् भन्ने कामना विश्वभरबाट भइरहेको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया