एजेन्सी । भारत–पाकिस्तानबीचको तनाव चुलिँदै गइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो साता तय गरिएको युरोप भ्रमण स्थगित गरेका छन्।
प्रधानमन्त्री मोदीले क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण गर्ने कार्यक्रम तय गरेका थिए। तर, पछिल्लो समय पाकिस्तानमाथि भएको भारतीय सैन्य कारबाहीपछि क्षेत्रीय अवस्था अस्थिर बन्दै गएकाले उनले यात्रा रद्द गरेका हुन्।
बुधबार प्रधानमन्त्री मोदीले उच्चस्तरीय सुरक्षा बैठक आयोजना गरेका थिए। उक्त बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत शीर्ष अधिकारीहरूको उपस्थिति थियो। यद्यपि, मोदीले सैन्य कारबाहीबारे हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।
उता, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्। बैठकपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
भारतीय कारबाहीपछि दुई आणविक शक्ति सम्पन्न देशबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ। विश्लेषकहरूका अनुसार अहिलेको परिस्थितिले जुनसुकै बेला पूर्ण युद्धको रूप लिन सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया