काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको प्रमुख कारण पेन किलर औषधिको अत्यधिक प्रयोग भएको खुलासा गरेका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विगतमा क्षयरोग (टिबी) र अल्सरले स्वास्थ्यमा गम्भीर असर पारेको स्मरण गरे। ती रोगका कारण अत्यधिक पीडा सहनुपर्दा बारम्बार पेन किलर सेवन गर्नु परेको र त्यसकै असरले मिर्गौला फेल भएको उनले बताए।
उनका शब्दमा, “मलाई क्षयरोग लाग्यो, अल्सर भयो। पेटभरि घाउ भएर पोल्थ्यो, रगत आउँथ्यो। त्यस्तो पीडामा पेन किलर खाइनँ भने के गर्ने? अन्ततः पेन किलर खाँदाखाँदै मिर्गौला फेल भयो।”
एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला दोस्रोपटक प्रत्यारोपण गरिएको हो। उनले विगतका दिनमा पर्याप्त पोषणयुक्त खाना र प्रभावकारी औषधिको अभावमा रोगहरूले गम्भीर रूप लिन पुगेको उल्लेख गरे।
कार्यक्रममा उनले सबैलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन र समयमै सतर्कता अपनाउन सुझाव पनि दिए।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया