काठमाडौं । रूपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकन्डरी स्कुलको एक विद्यालय बसमा बिहीबार बिहान आगलागी भएको छ। विद्यालयतर्फ विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालयको गेटनजिकै पुगेको बेला अचानक आगो लागेको हो।
बसमा दर्जनौं विद्यार्थी सवार थिए। प्रत्यक्षदर्शी स्थानीय मनोज भण्डारीका अनुसार, बस विद्यालय परिसरमै पुगेको बेला धुवाँ निस्किन थाल्यो र केही क्षणमै आगो सल्कियो। स्थिति गम्भीर बन्न नपाउँदै स्थानीयवासी, प्रहरी र दमकल टोलीको सहयोगमा विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
विद्यालयको लु १ क १३२६ नम्बरको सो बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यद्यपि, बसमा रहेका सबै विद्यार्थी र चालक सकुशल रहेका छन्। प्रहरीका अनुसार आगलागीको कारण प्रारम्भिक रूपमा प्रविधिक समस्या हुनसक्ने आशंका गरिएको छ, यद्यपि विस्तृत अनुसन्धान भइरहेको छ।
यो घटनाले अभिभावकहरूलाई केही समयका लागि चिन्तित बनाएको भए पनि समयमै उद्धार भएकोले ठूलो दुर्घटना टर्न सफल भएको छ।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया