काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढिरहेको स्पष्ट पारेका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको स्थायित्वमा विश्वास व्यक्त गर्दै, आफू मन्त्री बनेको दस महिनाको अवधिलाई निरन्तरताको प्रतीकका रूपमा व्याख्या गरे।
गृहमन्त्री लेखकले भने, “यसपालिको सरकार दसै महिनामा फेरिँदैन। हामीले विगतमा दस महिनामा तीन–चार वटा सरकार भोगेका थियौं। तर अहिलेको सरकार परिवर्तन हुँदैन भन्नेमा हामी विश्वस्त छौं।”
उनले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई पूर्णता दिइएको उल्लेख गरे। उनका अनुसार, अघिल्लो नौ महिनाको अवधिमा सरकारलाई काम गर्न कानूनी अपूर्णताले अवरोध पु-याउँदै आएको थियो। तर अहिले सरकार संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउन दृढताका साथ अघि बढिरहेको छ।
गृहमन्त्री लेखकले देशमा स्थायित्व, सुशासन र संक्रमणकालीन न्याय सम्बोधन गर्नकै लागि वर्तमान सरकार गठन भएको बताए। उनले सिफारिस समितिले पनि आफ्नो कार्य अगाडि बढाइसकेको स्पष्ट गर्दै समितिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले काम गर्न दिनुपर्नेमा जोड दिए।
उनले पीडितको प्रतिनिधित्व सुनिश्चित गर्न सिफारिस समितिसँग छलफल गर्न सकिने बताए। त्यो सम्भव नभए कानुन संशोधनमार्फत “पीडित समन्वय इकाई” गठन गरिएको उल्लेख गर्दै, नियमावलीमा थप स्पष्टता ल्याएर व्यवस्थापन गर्न सकिने धारणा राखे।
गृहमन्त्री लेखकले थपे, “हामीले ल्याएको नयाँ संशोधनमा ‘पीडित समन्वय इकाई’ व्यवस्था गरिएको छ। यसलाई स्पष्ट पारेर, पीडित पक्षमा क्रियाशील सबैलाई प्रक्रियामा समावेश गर्नुपर्छ। पीडितलाई बाहिर राखेर संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुग्दैन।”
उनले संक्रमणकालीन न्यायको संवेदनशील विषयमा सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, सरकार त्यसैअनुसार प्रतिबद्धतापूर्वक अघि बढिरहेको बताए।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया